सदस्य सचिव नियुक्तिका लागि गठन भएको सिफारिश समितिले पायो पूर्णता

असार २६, २०७७ | काठमाडौं

खेलुकदमा जारी भएको नयाँ ऐन अनुसार सदस्य सचिव नियुक्तिका लागि गठन भएको सिफारिश समितिले पूर्णता पाएको छ । यसअघि खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो ।

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आज समितिमा रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य नियुक्त गरेसँगै यसले पूर्णता पाएको हो । अब समितिले नै सदस्य सचिवको नाम सिफारिस गर्नेछ । सिफारिस समितिको कार्यविधि समिति आफैले निर्माण गर्नेछ ।

राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक रहिसकेका रानाभाट १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको सहायक सेभ द मिसन समेत रहेका थिए । अर्की सदस्य निरौला भने यसअघि राष्ट्रिय खेलकुद परिषदकै बोर्ड सदस्य थिइन् ।

यसैबीच, मन्त्रालयले नयाँ सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले ७ दिनको म्याद राखेर संक्षिप्त कार्ययोजनासहित निवेदन दिन भनेको छ । नयाँ ऐन अनुसार सदस्यसचिव नियुक्त हुन पाँच वर्ष खेलकुदमा बिताएको, ३० वर्ष नाघेको, नेपाली नागरिक, कानूनले बन्देज नगरेको र स्नातक पास भएको हुनुपर्नेछ । 


प्रतिक्रिया