अवहेलना सम्बन्धी मुद्दामा एन्फालाई कारण देखाउ आदेश

असार २८, २०७७ | काठमाडौं

अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फालाई कारण देखाउ आदेश जारी गरेको छ । 

अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले एन्फालाई त्यसबारे लिखित जवाफ १५ दिनभित्र पेश गर्न भनेको छ ।

अधिवक्ता सुजित केसीले एन्फा सहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाउँदै गत सोमबार मुद्दा दायर गरेका थिए । 

सर्वोच्चको अन्तरिम आदेश विपरीत एन्फाले रौतहटको एकेडेमीको काम गरेकाले अदालतको अवहेलना भएको अधिवक्ता केसीको दाबी छ । 

गत माघ २९ गते छलफलको दिन तोकी सो अवधिसम्म एकेडेमीका सम्बन्धमा भए गरेका निर्णयहरु कार्यान्वयन नगर्न/नगराउन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश विपरीत एन्फाले निर्माण सम्पन्नको प्रमाणपत्र बुझाएकोले त्यसलाई स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैयाँ घेरा बार र गार्ड हाउस निर्माण तथा ४५ लाख ९७ हजार ७ सय १ रुपैयाँमा फ्लोरिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने निर्णय गरेको थियो । 

एकेडेमीमा ५७ लाख ८६ हजार ८ सय ३ रुपैयाँ लागतमा फर्निसिङका लागि नयाँ टेन्डर आह्वान गर्ने निर्णय समेत भएको थियो ।


प्रतिक्रिया