सिटीमाथिको प्रतिबन्ध फुकुवा, च्याम्पियन्स लिग खेल्ने

असार २९, २०७७ | काठमाडौं

इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरी लाएको प्रतिबन्ध फुकुवा भएको छ । 

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स कासले यूइएफएले लगाएको अभियोग प्रमाणित नभएको ठहर गरेसँगै सिटीमाथिको प्रतिबन्ध फुकुवा भएको हो ।

यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्ले नियमको गम्भीर उल्लंघन गरेको पाइएको भन्दै यूईएफएले सिटीमाथि २ वर्षे प्रतिबन्ध लगाएको थियो । 

उसले प्रतिबन्धसँगै ३ करोड युरो जरिवाना सिटीलाई तोकेको थियो । कासले सिटीमाथिको छानबिन टुंगिएको जनाउँदै उमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । 

यूईएफएको निर्णय उल्टिएसँगै सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ । 

सन् २०१२ देखि २०१६ को बीचमा क्लबलाई प्रायोजन बापत आएको रकम र लेखा परीक्षणबारे अनुसन्धान गर्न खोज्दा सिटीले समन्वय नगरेको आरोप लागेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परीक्षणमा देखाएको अभियोग लागेको थियो ।


प्रतिक्रिया