ईन्टर मिलान र एटलान्टा विजयी

श्रावण १४, २०७७ | एजेन्सी

ईटालियन सिरी ए फुटबलमा दोस्रो स्थानमा रहने टोलीको होड रोमाञ्चक बनेको छ । युभेन्टसले सिजनको उपाधि जितिसकेपछि दोस्रो स्थानमा रहने प्रतिस्पर्धा भने निक्कै रोमाञ्चक बनेको हो । दोस्रो स्थानको होडमा रहेका ईन्टर मिलान, एटलान्टा र लाजियो मध्ये ३७ औं चरणमा ईन्टर र एटलान्टाले जित निकालिसकेका छन् । लाजियोले आज ब्रेसीयासँग खेल्नेछ ।

नापोलीमाथी सहज जित निकाल्दै ईन्टर मिलान तालिकाको दोस्रो स्थानमै फर्किएको छ । एटलान्टाको जितसंगै केहि समय तेस्रो स्थानमा धकेलिएको ईन्टरले नापोलीलाई २–० ले हराउँदै दोस्रो स्थानमा एक अंकको अग्रता यथावत राखेको हो । घरेलु मैदानमा ईन्टरलाई जिताउन डानिलो एम्ब्रोसीयो र लाउतारो मार्टिनेजले गोल गरे । ११ औं मिनेटमा डानिलोको गोलमा अग्रता बनाएको ईन्टरका लागि मार्टिनेजले ७४ औं मिनेटमा अर्को गोल थपेका थिए । ३७ खेलबाट ७९ अंक जोडेको ईन्टरले एटलान्टालाई १ अंकले पछि पारेको हो ।

एटलान्टाले गएराती नै पार्माबिरुद्ध २–१ को जित निकालेको थियो । यो जितले उसलाई ७८ अंकमा केहि समय दोस्रो स्थानमा पुर्याएको थियो । ईन्टरको जितले एटलान्टा पुन तेस्रो स्थानमै झरेको छ ।

सिरि ए फुटबलमा आज ३७ आंै चरणका थप ८ खेल हुदैछन् । आज उपाधि विजेता युभेन्टसले काग्लीयारीसँग प्रतिस्पर्धा गर्नेछ । लाजियोले ब्रेसीया, एसी मिलानले साम्पडोरिया, सासुलोले जिनोआ, उडिनेसले लिचे तथा हेल्लास भेरोनाले स्पालसँग प्रतिस्पर्धा गर्नेछ । अन्य खेलहरुमा रोमा र टोरिनो तथा फियोरेन्टिना र बोग्लोना आमने सामने हुनेछन् ।    


प्रतिक्रिया