पिएसजीलाई सिजनको तेस्रो उपाधि

श्रावण १७, २०७७ | काठमाडौं

पेरिस सेन्ट जर्मेन पिएसजीले सिजनको तेस्रो उपाधि जितेको छ । गएराती फ्रेन्च लिग कप फुटबलको उपाधि जित्दै उसले फ्रेन्च लिगका तीन ठुला उपाधि आफ्नो नाममा लेखाएको हो । 

नवौं पटक लिग कपको उपाधि जित्ने क्रममा पिएसजीले लियोनलाई सडेन डेथमा स्तब्ध पार्यो । पिएसजीको घरेलु मैदानमा ५ हजार दर्शकसहित भएको खेल निर्धारित र अतिरिक्त समयसम्म गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि प्रहार गरिएको पेनाल्टि पनि बराबरीमा सकिएपछि सडेन डेथबाट उपाधि विजेताको टुंगो लगाईएको हो । 

सडेन डेथमा पिएसजीका गोलरक्षक किलो नाभासले लियोनका बर्टराण्ड ट्राओरेको प्रहार बचाएका थिए । पाब्लो साराबियाले पिएसजीका लागि निर्णायक गोल गरे ।

पिएसजीले यसै सिजन फ्रेन्च कप र लिग वानको उपाधि जितिसकेको थियो । सिजनका तीन उपाधि जितिसकेको पिएसजीको नजर अब च्याम्पियन्स लिगमा परेको छ । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा उसले अगष्ट १२ मा एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया