सिरि ए फुटबलमा अन्तिम चरणका ५ खेल हुँदै

श्रावण १७, २०७७ | काठमाडौं

इटालियन सिरि ए फुटबलमा आजबाट अन्तिम चरणका खेल सुरु हुँदै छन् । पहिलो दिन आज विभिन्न ५ खेल हुँदै छन् । आज राति सिरि ए च्याम्पियन युभेन्टसले रोमासँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल घरेलु मैदानमा नेपाली समयानुसार राति साढे १२ सुरु हुनेछ । 

८३ अंकसँगै उपाधि जितिसकेको युभेन्टस घरेलु मैदानमा सहज जित निकाल्दै उपाधि उचाल्ने योजनामा छ । ६७ अंकमा तालिकाको पाँचौ स्थानमा रहेको रोमा पनि युभेन्टसलाई हराउँदै आफ्नो स्थानमा बलियो बन्ने लक्ष्यमा छ । 

सोही समय दोस्रो स्थानको ईन्टर मिलानले एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो स्थानमा १ अंकले अघि रहेको ईन्टर एटलान्टालाई उसैको मैदानमा हराउँदै सिजनको अन्त्य गर्न चाहन्छ । ईन्टरलाई हराउन सके एटलान्टा दोस्रो स्थानमा रहनेछ ।

त्यस्तै, छैटौ स्थानमा रहेको एसी मिलानले १३ औं स्थानको काग्लीयारीसँग खेल्नेछ । आजको जितले एसी मिलानको वरियतामा कुनै प्रभाव पार्ने छैन । मिलानलाई हराए काग्लीयारीले तालिकामा ३ स्थान सुधार गर्नेछ । दोस्रो स्थानको होडमा रहेको लाजियोले आजै राति नापोलीसँग प्रतिस्पर्धा गर्नेछ । 

दिनको पहिलो खेलमा राति पौने १० बजे ब्रेसिया र साम्पडोरिया आमने सामने हुनेछन् । जारी सिजन रेलिगेशनमा परिसकेको ब्रेसिया सिजनको सुखद अन्त्य गर्ने योजनामा छ । ४१ अंकमा तालिकाको १५ औं स्थानमा रहेको साम्पडोरिया २ स्थान फड्को मार्ने दाउमा छ । 


प्रतिक्रिया