लिभरपुल र म्यानचेष्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा

आश्विन ९, २०७७ | काठमाडौं

लिभरपुल र म्यानचेष्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा लिन्कन सिटीलाई ७–२ को फराकिलो अन्तरले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान बनाएको हो ।

लिन्कनको मैदानमा लिभरपुललाई फराकिलो जित दिलाउन ताकुमी मिनामिनो र कुर्तिस जोनेसले समान २ तथा जर्दान साकिरी, मार्को ग्रुजिक र डिभोक ओरिजीले एक एक गोल गरे । लिन्कनका टायो ईडुन र लिविस मोन्तास्माले गोल फर्काए । पहिलो हाफमा ४–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल थप्दै २ गोल खाएको थियो ।

बर्नमाउथलाई २–१ ले हराउँदै म्यानचेष्टर सिटीले पनि काराबाओ कप फुटबलको चौथो चरणमा स्थान बनाएको छ । उसको जितमा लियाम डेलाप र फिल फोडेनले गोल गरे । पहिलो हाफ एक एकको बराबरीमा सकिएको खेलमा सिटीका लागि ७५ औं मिनेटमा फोडेनले गोल गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्याएका हुन् । गएराती नै एष्टोन भिल्लाले ब्रिस्टोल सिटीलाई ३–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । 


प्रतिक्रिया