क्यानको साधारणसभा स्थगित

आश्विन २६, २०७७ | काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अन्तिम समयमा आएर स्थगित भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गर्ने भएको हो । 

चितवनको सौराहामा यही असोज ६ गते बसेको क्यानको बोर्ड बैठकले वार्षिक साधारण सभा असोज २८ र २९ गते गर्ने निर्णय गरेको थियो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गर्दै पदाधिकारी र केन्द्रीय सदस्यहरु समेत आइसोलेसनमा रहेकाले साधारणसभा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाउनु भएको छ ।

तर, हाललाई साधारणसभा गर्न उपयुक्त नदेखिएपछि क्यानले मंसिर १५ भित्र वार्षिक साधारण सभा सक्ने योजना अघि सारेको छ । यसबारे क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषदलाई समेत जानकारी गराइएको क्यानका एक अधिकारीले बताए । 

गत वर्ष असोज ११ गते निर्वाचन मार्फत क्यानको नयाँ कार्यसमिति चयन भएको थियो । वार्षिक साधारणसभाको तयारी गर्नुपर्ने समयमा गत चैतबाट लकडाउन सुरु भएपछि वार्षिक कार्यक्रम सहित क्यानको साधारण सभा अनिश्चित बनेको थियो । 


प्रतिक्रिया