नेपाली फुटबल चलायमान हुने सङ्केत

आश्विन ३०, २०७७ | काठमाडौं

कोरोना भाईरसको जोखिमले ६ महिनादेखि ठप्प नेपाली फुटबल पुन: चलायमान हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्नका लागि गरेको आग्रहमा राष्ट्रिय खेलकुद परिषद राखेपले ग्रीन सिग्नल दिएसँगै घरेलु फुटबल ट्रयाकमा आउने भएको हो ।

यसअघि एन्फाले पटकपटक फुटबल टोलीको प्रशिक्षणका साथै मैत्रीपूर्ण खेलका लागि राखेपसँग अनुमति मागेको थियो । पछिल्लो समय बंगलादेशले मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेपछि एन्फाले त्यसको स्वीकृतिका लागि राखेपमा पत्र पठाएको थियो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको अनुमति दिनु भएको हो । तर, स्वास्थ्य सावधानीको सबै उपाय अवलम्बन गरेर मात्रै प्रशिक्षण गर्न एन्फालाई राखेपले सचेत तुल्याएको छ । राखेपले प्रशिक्षण अनुमति दिए पनि मन्त्रीपरिषदले यसबारे निर्णय लिन बाँकी छ ।

नेपालले तिहारपछि बंगलादेशसाग मैत्रीपूर्ण फुटबल खेल खेल्ने तयारी गरेको छ । कोरोना महामारीकै बीच दक्षिण एसिया सहित विश्वभर फुटबल गतिविधि सुरु भईसकेकाले घरेलु फुटबल गतिविधि सुरु गर्न एन्फा र राखेपमाथि दवाव थियो । 


प्रतिक्रिया