बार्सा, युभेन्टस, पिएसजी चेल्सी र बोरुसिया डर्टमण्ड विजयी

मंसिर १०, २०७७ | काठमाडौं

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रालाई चौथो चरणमा पनि जारी राखेको छ । समुह जी अन्तर्गतको खेलमा गएराती डाईनामो किभलाई ४–० ले हराउँदै बार्सा अन्तिम १६ मा छनोट भएको हो । 

नियमित कप्तान लियोनल मेसीलाई आराम दिईएको खेलमा बार्सालाई जिताउन मार्टिन ब्रेथवेटले २ तथा एन्टोनियो ग्रीजमेन र सर्जिनो डेस्टले एक एक गोल गरे । किभको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्साले सबै गोल दोस्रो हाफमा गरेको थियो । 

५२ औं मिनेटमा डेष्टको गोलमा अग्रता बनाएको बार्साका लागि ब्रेथवेटले ५७ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उनैले ७० औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्याए । ईन्ज्युरी समयमा ग्रीजमेनले गोल गरेपछि बार्सा शानदार जित निकाल्न सफल बन्यो । 

४ खेलबाट १२ अंक जोडेको बार्सा प्रिक्वार्टरफाईनलका लागि छनोट भएको हो । यसै समुहको खेलमा युभेन्टसले फेरेन्भारोसीलाई २–० ले हरायो । लिगमा युभेन्टसको यो तेस्रो जित हो । घरेलु मैदानमा युभेन्टसलाई जिताउन क्रिष्टियानो रोनाल्डो र अल्भारो मोराताले गोल गरे । ३५ औं मिनेटमा रोनाल्डोको गोलमा अग्रता बनाएको युभेन्टसका लागि मोराताले ईन्ज्युरी समयमा अर्को गोल थपेका थिए ।

समुह एचको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले आरबी लाईपजिगलाई १–० ले हरायो । नेयमारले खेलको ११ औ मिनेटमा पेनाल्टिमार्फत गरेको गोल पिएसजीको जितमा निर्णायक बनेको थियो । ४ खेलबाट ६ अंक जोडेको पिएसजी समुहको दोस्रो स्थानमा उक्लिएको छ । 

यसै समुहको खेलमा म्यानचेष्टर युनाईटेडले इस्तानबुल बसाकेसेरलाई ४–१ ले हरायो । ४ खेलबाट ९ अंक जोडेको युनाईटेड समुहको शीर्ष स्थानमा कायम छ । उसलाई सहज जित दिलाउन बुर्नो फर्नाण्डेजले २ तथा मार्कुस रासफोर्ट र डानिएल जेम्सले एक एक गोल गरे ।

गएरातीनै बोरुसिया डर्टमण्डले क्लब ब्रुगलाई ३–० ले हरायो । उसलाई सिजनको तेस्रो जित दिलाउन आर्लिङ हालाण्डले २ तथा जाडोन सान्चोले एक गोल गरे । यो जितसंगै उसको अघिल्लो चरण प्रबेशको संभावना बलियो बनेको छ । यहि समुहमा लाजियोले जेनित सेन्ट पिटर्सवर्गलाई ३–१ ले पराजि गर्यो । यो जितले उसलाई ८ अंकमा तालिकाको दोस्रो स्थानमा कायम राखेको छ ।

ग्रुप ई अन्तर्गत सेभियाले क्रास्डोनारलाई तथा चेल्सीले रेन्नेसलाई समान २–१ ले पराजित गरे । यो नतिजासंगै दुबै टोलीले प्रिक्वार्टरफाईनलमा स्थान सुरक्षित गरेका छन् ।    


प्रतिक्रिया