प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ लाई

पुस १९, २०७७ | काठमाडौं

दाङको लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले हात पारेको छ । आज भएको फाइनल खेलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि जितेको हो ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित भएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहादै २६ रन बनाइन् ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात गरेका थिए । बेगम र क्षेत्रीबीच ५८ रनको ओपनिङ साझेदारी भएको थियो । १२ दशमलव ४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन् ।

रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट भइन् । अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् । काजल श्रेष्ठले अविजित रहादै २९ रन बनाइन् । उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरिन् । रोमा थापाले ३ रन र निशा शाहले ५ रन बनाउादा संगिता राई २ रनमा अविजित रहिन् ।

बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले विकेट लिने क्रममा १७ रन खर्चिइन् । करुणा भण्डारीले १ विकेट लिएकी थिइन् । खेलमा प्रदेश १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच र संगिता राई प्लेयर अफ द सिरिज भएका छन् । उपाधिसँगै प्रदेश १ ले नगद ५ लाख र उपविजेता एपीएफले ३ लाख पुरस्कार प्राप्त गरेको छ । सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गरेका छन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गरेका छन् ।



प्रतिक्रिया