बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो

माघ १, २०७७ | काठमाडौं

साविक बिजेता बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ । गएराती भएको दोस्रो चरणको खेलमा बायर्न दोस्रो डिभिजन क्लब होल्सटेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

किलको मैदानमा निर्धारित र अतिरिक्त समय दुई दुई गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा बायर्न ६–५ गोल अन्तरले स्तब्ध भयो ।

पेनाल्टीमा जानुअघि खेलमा बायर्नले अग्रता बनाएको थियो । १४ औं मिनेटमा सर्जी नाब्रीले बायर्नलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा फिन बार्टल्सले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याए । ४७ औं मिनेटमा लेरोई सानेले गोल गर्दै बायर्नलाई दोस्रो पटक अग्रता दिलाए ।

इन्ज्युरी समयमा हाउके वाहलले गोल गरेपछि घरेलु टोली फेरी बराबरीको अवस्थामा पुगेको थियो । त्यसपछि थपिएको समयमा दुबै टोलीले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा बायर्न ६–५ गोलले पराजित हुँदै जर्मन कपबाट बाहिरिएको हो ।


प्रतिक्रिया