बार्सिलोना स्पेनिस सुपर कपको उपाधिनजिक

माघ १, २०७७ | काठमाडौं

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको उपाधिनजिक पुगेको छ । गएराती भएको पहिलो सेमिफाईनलमा रियल सोसिडाडलाई टाईब्रेकरमा हराउँदै बार्साले फाईनलमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित र अतिरिक्त समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । सोसिडाडले सुरुवाती तीन प्रहार चुकाएपछि बार्साको जित संभव भएको हो । यद्यपी खेलको निर्णय भने पाँचौ प्रहारबाटै भएको थियो । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई प्रहार बचाएका थिए ।

नियमित खेलमा ३९ औं मिनेटमा फ्रेन्की डी जोङको गोलमा बार्साले अग्रता लिएको थियो । कप्तान लियोनल मेस्सी बिनै उत्रिएको बार्सिलोनाले पाएका थप अवसरलाई सदुपयोग गर्न सकेन् । डि जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई बराबरीमा पुर्याएका थिए ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टीतर्फ धकेलिएको हो ।

बार्सिलोनाले फाइनलमा एथ्लेटिको बिल्बाओ र रियल म्याड्रिडको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाईनल खेल आज राती हुनेछ ।


प्रतिक्रिया