प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता : त्रिभुवन आर्मीको विजयी सुरुवात

माघ २, २०७७ | काठमाडौं

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो । 

आर्मीले दिएको २ सय ८८ रनको उच्च लक्ष्य पछ्याएको गण्डकी प्रदेश २ ओभर बाँकी रहँदै १ सय ८९ रनमा अलआउट हुन पुग्यो । उसका लागि समिर कँडेलले अर्धसतक बनाउँदा क्याप्टेन विपिन खत्रीले ३७ र अर्जुन कुमालले ३६ रन बनाए । गण्डकीबिरुद्ध फराकिलो जित निकाल्ने क्रममा राजेश पुलामीले ५ र भिम सार्कीले ३ विकेट झारे ।

यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रनको उच्च योगफल तयार पारेको थियो । उसका लागि क्याप्टेन बिनोद भण्डारीले ७६ बलमा नटआउट १ सय ११ रन बनाए । यस्तै राजु रिजालले ४५, लोकेश बम ४२ र राजेश पुलामीले ३८ रनको योगदान गरे । विपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिएपनि आर्मीलाई कम योगफलमा समेट्न भने सकेनन् ।

प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा भोली प्रदेश एक र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । 


प्रतिक्रिया