बागमती प्रदेशको विजयी सुरुवात

माघ ४, २०७७ | काठमाडौं

बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा विजयी सुरुवात गर्दा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । आज भएको खेलमा बागमतीले डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्‍यो भने आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हरायो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १ सय १२ रनको लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको बागमतीको जितमा नटआउट रहँदै पृथु बाँस्कोटाले ४८ र इशान पाण्डेले १७ रन बनाए । यद्यपि बागमतीको सुरुवात भने राम्रो थिएन । ३५ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै पृथु र इशानले चौथो विकेटका लागि नटआउट ७९ रनको साझेदारी गरे । पारस खड्का १७, अदिल खान १२ र आकाश थापा एक रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीको नाममा एक एक विकेट रह्यो ।

यसअघि पहिला व्याटिङ गरेको पुलिस २९ ओभर ३ बलमा १ सय ११ रनमा अलआउट भएको थियो । पुलिसको ईनिङसमा दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१ तथा सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् । बागमतीका नन्दन यादव र तिलक भण्डारीले समान ४ तथा रामनरेश गिरीले २ विकेट लिए । 


प्रतिक्रिया