बागमतीले लगातार दोस्रो जित दर्ता गरेको दिन गण्डकीको पहिलो जित

माघ ५, २०७७ | काठमाडौं

बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लगातार दोस्रो जित दर्ता गरेको दिन गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरमा पराजित गर्‍यो । मुलपानी क्रिकेट मैदानमा गण्डकीले प्रदेश एकलाई २ विकेटले पराजित गर्‍यो । प्रदेश एकको यो लगातार दोस्रो हार हो ।

बागमतीले दिएको ३ सय रनको उच्च लक्ष्य पछ्याएको सुदुर पश्चिम २१ ओभरमा १ सय १९ रनमा अलआउट भयो । नारायण जोशीले २९ बलमा नटआउट ४४ रन बनाएपनि अन्य व्याट्सम्यान चल्न नसक्दा सुदुरपश्चिम पहिलो खेलमा नै फराकिलो हार भोग्न बाध्य भयो । ४ रन जोड्दा ५ विकेट गुमाएको सुदुरपश्चिमका ६ जना व्याट्सम्यान डक आउट भएका थिए । उसलाई सस्तैमा समेट्न रामनरेश गिरीले ४ र नन्दन यादवले २ विकेट लिए ।

पहिला व्याटिङ गरेको बागमतीले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको योगफल तयार पारेको थियो । उसका लागि पृथु बाँस्कोटाले ८४ र अदिल खानले ६३ रनको योगदान गरे ।

यस्तै प्रदेश १ ले दिएको १ सय ३ रनको सामान्य चुनौती गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । उसको जितमा अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५ रन बनाए ।

पहिला ब्याटिङ गरेको प्रदेश एक २७ दशमलव ४ ओभरमा १ सय २ रनमा समेटिएको थियो । कप्तान सिद्धान्त लोहनीले सर्बाधिक २४ रन बनाए । गण्डकीका सुवास भण्डारी र बिशाल पौडेलले समान ४ विकेट लिए ।

लिगमा भोली लुम्बिनी प्रदेश र प्रदेश २ तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । 


प्रतिक्रिया