माघ १६ गते चौंथो खुल्ला अल्ट्रा म्याराथन हुने

माघ ५, २०७७ | तनहुँ

तनहुँमा आगामी १६ गते चौंथो खुल्ला व्यास नगर अल्ट्रा म्याराथन–२०७७ हुने भएको छ । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मुल नाराका साथ चौथो खुल्ला व्यास नगर अल्ट्रा म्याराथन–२०७७ आयोजना हुन लागेको हो । 

जिल्लाको व्यास नगरपालिकाले शहिद दिवसका दिन माघ १६ गते उक्त प्रतियोगिता गर्न लागेको हो । शहिदहरुको सम्झना साथै व्यास–५ स्थित मगरको गाउँ मानहुँ र व्यास–८ स्थित गुरुङको गाउँ पुलिमराङलाई जोड्ने उद्देश्यका साथ अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित गरिंदै आएको म्याराथन प्रतियोगितालाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने छौं ।’ मानहुँबाट सुरु हुने म्याराथन पुलिमराङसम्म ४४ किलोमिटर दूरीको रहनेछ । 

म्याराथनमा प्रथम, द्वितीय, तृतीयलाई क्रमश: ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ रुपैयाँ तथा ५ जनालाई सान्त्वना पुरस्कार स्वारुप जनही १६ हजार ७७ रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट पृथ्वीराजमार्ग हुँदै दुर्गा मन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी–दुम्सी खहरे–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिका मार्ग हुँदै बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङ स्थित सहिद स्मारक पार्कमा पुगेर समापन हुनेछ ।

यस्तै, नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास पराशर क्षेत्रबाट ऐतिहासिक स्थल तनहुँसुर दरवारसम्मको महिलाबीच दौड प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको व्यास नगर अल्ट्रा म्याराथन–२०७७ का मुल संयोजक एंव उप–प्रमुख मिरा जोसीले बताउनुभयो । 


प्रतिक्रिया