प्रिक्वार्टरफाईनलको पहिलो लेगमा बायर्न र चेल्सी विजयी

फाल्गुन १२, २०७७ | काठमाडौं

च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाईनलको पहिलो लेगमा बायर्न म्युनिख र चेल्सी विजयी भएका छन् । गएराती भएको खेलमा बायर्नले लाजियोमाथी ४–१ को जित निकाल्यो । 

लाजियोलाई उसैको मैदानमा फराकिलो अन्तरले हराउन रोबर्ट लेबान्डोस्की, जामल मुस्याला, लेरोई सानेले गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । लाजियोका वाकी कोरियाले एक फर्काए । बायर्नले तीनै गोल खेलको पहिलो हाफमा गरेको थियो । 

नवौं मिनेटमा लेबान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्नका लागि मुस्यालाले २४ औं मिनेटमा अर्को गोल थपेका थिए । सानेले ४२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै पाहुना टोली ३–० को बलियो अबस्थामा पुगेको हो ।

दोस्रो हाफको सुरुवातमै उपहार गोल पाएपछि बायर्न जित नजिक पुगेको थियो । त्यसको २ मिनेटपछि कोरियाले गोल गर्दै लाजियोको अन्तर घटाएपनि त्यसपछिको समय थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । यी दुई टोलीबीचको दोस्रो लेग बायर्नको मैदानमा मार्च १७ मा हुनेछ ।

एट्लेटिको मड्रिडलाई १–० ले हराउँदै चेल्सीले पनि क्वार्टरफाईनल प्रबेशको सम्भावना बलियो बनाएको छ । स्पेनमा यात्रा प्रतिबन्धका कारण रोमानियामा खेलाईएको खेलमा चेल्सीलाई जिताउन ओलिभर जिराउडले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६८ औं मिनेटमा जिराउडले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण जित दिलाएका हुन् । 


प्रतिक्रिया