भ्यालेन्सियालाई हराएको बार्सिलोनाको उपाधि होडमा कायमै

वैशाख २०, २०७८ | काठमाडौं

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किएको छ । ३४ औं चरणको खेलमा भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गर्दै बार्सा उपाधि होडमा फर्किएको हो । भ्यालेन्सियाको मैदानमा बार्सालाई जिताउन लियोनल मेस्सीले २ तथा एन्टोनियो ग्रीजमनले एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल खेलको दोस्रो हाफमा भएका थिए । ५० औं मिनेटमा ग्राबियल पउलिष्टाको गोलमा अग्रता बनाएको भ्यालेन्सियाविरुद्ध १२ मिनेटभित्र बार्साले ३ गोल गरेको थियो । 

कप्तान मेस्सीले ५७ औ मिनेटमा टोलीलाई बराबरीमा पुर्‍याए । ६३ औं मिनेटमा ग्रीजमनले बार्सालाई २–१ को अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दा बार्सा ३–१ को बलियो अवस्थामा पुग्यो ।

८३ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियाको अन्तर घटाएका थिए । यो जितसँगै बार्साको ३४ खेलबाट ७४ अंक भएको छ । ऊ तालिकाको तेस्रो स्थानमा कायम छ । दोस्रो स्थानको रियल मड्रिडको पनि समान ७४ अंक छ । 

शीर्ष स्थानको एट्लेटिको मड्रिड भने रियल र बार्सा भन्दा २ अंक्ले अघि छ । बार्साले आगामी शनिबार घरेलु मैदानमा एट्लेटिको मड्रिडसँग खेल्नेछ । गएराति नै भियारियलले गेटाफेलाई तथा काडिजले ग्रानाडालाई समान एक शून्य गोलले पराजित गरे । रियल भल्लाडोलिड र रियल बेटिसले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया