कुशल भुर्तेल आईसीसी 'प्लेयर अफ द मन्थ' को मनोनयन सूचीमा

वैशाख २२, २०७८ | काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् । आईसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा पाकिस्तानी खेलाडी बाबर आजम र फखर जमानसंगै कुशल पनि परेका हुन् ।

अप्रिल महिनामा पाकिस्तानी कप्तान बाबर आजम विराट कोहलीलाई पछि पार्दै आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा ९४ बलमा ८२ रन बनाउँदै बाबरले पाकिस्तानलाई खेल जिताएका थिए । सो खेलबाट १३ अंक बटुल्दै बाबरले आफ्नो करियरमै सबैभन्दा बढी ८ सय ६५ प्वाइन्ट बनाएका थिए । त्यस्तै उनले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाको अन्तिम खेलमा ५९ बलमा १ सय २२ रन बनाएका थिए । 

त्यस्तै फखर जमानले अप्रिलमा महिनामा एकदिवसीय खेलमा २ शतक प्रहार गरेका थिए । त्यसमा दक्षिण अफ्रिकाविरुद्ध जोहानेसबर्गमा भएको खेलमा बनाएको १ सय ९३ रनको पारीसमेत समावेश छ । त्यस्तै कुशल भुर्तेलले उनले हालै नेपालमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिरिजमा २ सय ७८ रन बनाएका थिए । उनले नेदरल्यान्ड्स र मलेसियासम्मिलित सिरिजमा लगातार तीन अर्धशतक बनाएका थिए । उनले कुल ५ खेलमा चार अर्धशतक बनाए ।


प्रतिक्रिया