जिम्बावेविरुद्धको टेष्ट सिरिज पाकिस्तानद्वारा क्लिनस्विप

वैशाख २७, २०७८ | काठमाडौं

जिम्बावेविरुद्धको दुई टेष्ट सिरिज पाकिस्तानले क्लिनस्विप गरेको छ । दोस्रो टेष्ट खेलमा जिम्बावेलाई एक इनिङ १ सय ४७ रनले पराजित पाकिस्तानले सिरिज क्लिनस्विप गरेको हो । घरेलु टोली जिम्बावे दोस्रो इनिङ्समा चौथो दिन २ सय ३१ रनमा अल आउट भएको थियो ।

जिम्बावेका विकेट किपर ब्याट्सम्यान रेगिस चकब्वाले सर्वाधिक ८० रनको योगदान गरे । कप्तान ब्रेन्डन टेलरले ४९ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गरेनन् । पाकिस्तानका स्पिनर नौमान अलीले ८६ रन खर्चेर ५ विकेट लिए । शाहिन अफ्रिदीको नाममा बाँकी विकेट रह्यो । 

पहिलो इनिङमा जिम्बावे १ सय ३२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । त्यसअघि हरारे स्पोटर्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङ्स ८ विकेटको क्षतिमा ५ सय १० रनमा डिक्लेयर गरेको थियो ।  पाकिस्तानका ओपनर आबिद अली २ सय १५ रनमा अविजित थिए ।

आबिद पाकिस्तानबाट जिम्बावेविरुद्ध टेष्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बने । उनी प्लेयर अफ दी म्याच घोषित भए । पाकिस्तानका हसन अली प्लेयर अफ दी सिरिज बने । पहिलो टेष्ट खेलमा पनि पाकिस्तान इनिङ र १ सय १६ रनले विजयी भएको थियो । 


प्रतिक्रिया