टोरेसको ह्याट्रिकमा म्यानचेष्टर सिटीको जित

जेष्ठ १, २०७८ | काठमाडौं

ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर सिटी विजयी भएको छ । न्यु क्यासल युनाईटेडलाई ४–३ गोल अन्तरले हराउँदै लिग च्याम्पियन सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको हो । न्यु क्यासलको मैदानमा सिटीलाई जिताउन फेरान टोरेसले ह्याट्रिक गरे । अर्को गोल जोआ कान्सेलोको नाममा रह्यो ।

खेलमा अग्रता भने खेलको २५ औं मिनेटमा ईमिल क्राफ्थको गोलमा न्यु क्यासलले लिएको थियो । ३९ औं मिनेटमा कान्सेलोले गेल गर्दै सिटीलाई बराबरीमा पुर्याए । ४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २–१ को अवस्थामा पुर्याएका थिए । पहिलो हाफको ईन्ज्युरी समयमा जोलिन्टनले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको सुरुवातमै न्युक्यासलले गोल गर्दै खेलमा दोस्रो पटक अग्रता बनायो । ६२ औं मिनेटमा जोए विललकले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाए । त्यसको २ मिनेटपछि टोरेसले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटी बराबरीमा पुग्यो । ६६ औं मिनेटमा टोरेसले ह्याट्रिक पुरा गर्दै टोलीलाई जित दिलाए ।

खेलमा अधिकांश समय न्यु कयासललाई दबावमा राखेको सिटीले थप आधा दर्जन अवसर खेर फालेको थियो । ३६ खेलबाट सिटीको ८३ अंक भएको छ । न्युक्यासल ३९ अंकमा तालिकाको १६ औं स्थानमा छ । सिटीले यसअघि नै लिगको उपाधि आफ्नो नाममा राखिसकेको छ ।    


प्रतिक्रिया