टोकियो ओलम्पिक तोकिएकै समयमा हुन्छ : आईओसी

जेष्ठ ८, २०७८ | काठमाडौं

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक निर्धारित समयमै हुने जनाएको छ । आईओसीका उपाध्यक्ष जोन कोट्सले कोरोना भाइरस महामारीका कारण जारी आपतकालकै बीचमा पनि टोकियो ओलम्पिक गर्नुको विकल्प नभएको बताउनुभएको हो । ओलम्पिक सम्वद्ध कयौँ सरोकारवालाले ओलम्पिक स्थगनका लागि गरेको आग्रह र त्यसपछि देखा परेको अन्योलतामाझ कोट्सको यस्तो प्रतिक्रिया आएको हो । उहाँले भन्नुभएको छ, 'ओलम्पिक पूर्वघोषित समयमै हुनेछ चाहे आपतकालकै स्थिति किन नहोस्, किनकी हामीले यही बीचमा पनि विभिन्न पाँच वटा खेल आयोजना गरेका छौँ र हाम्रो सो परिक्षण सफल पनि भएको छ ।' 

जापानका ७० प्रतिशत मानिसले भने महामारीका बीच ओलम्पिक आयोजना गर्नु नहुने बताउँदै आएका छन् ।  

सबैखाले सावधानी अपनाएर ओलम्पिक सम्पन्न गर्न आईओसी तयार रहेको र सम्भावित सबै परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड र सुरक्षाका योजनाहरु बनाएको उहाँको दाबी छ । जापानको राजधानी टोकियोसहित विभिन्न ९ प्रान्तमा कोरोना महामारी नियन्त्रणका लागि भन्दै यही मे ३१ सम्म स्वास्थ्य आपतकाल जारी गरिएको छ । तालिकाअनुसार ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

 कोरोना संक्रमणको जोखिमकै कारण यसअघि सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्मका लागि तय भएको ओलम्पिक एक वर्ष पर सरेको थियो । कोरोनाकै कारण टोकियो ओलम्पिकसँगै पारा ओलम्पिक पनि एक वर्ष पछि सारि सन् २०२१ कै अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्मका लागि तय गरिएको छ ।  


प्रतिक्रिया