युरोकपमा आज तीन खेल हुँदै

जेष्ठ २९, २०७८ | काठमाडौं

युरो कपमा आज समूह ए को १ र समूह बी को २ गरी कुल ३ खेल हुँदैछ । समूह ए मा वेल्स र स्वीट्जरल्याण्ड भिड्दा समूह बी मा डेनमार्क र फिनल्याण्ड तथा रुस र बेल्जियम आमने सामने हुँदैछन् । अघिल्लो संस्करणको सेमिफाइनसम्म पुगेको वेल्सलाई रोक्ने योजनामा स्वीट्जरल्याण्ड हुनेछ । समूह नै कठिन परेका कारण पनि यी दुबैलाई प्रि–क्वाटरफाइनलको यात्रा तय गर्न त्यति सजिलो छैन । यी दुईबीचको खेल आज साँझ पौने ७ बजे बाकुमा हुनेछ ।

समूह बी मा डेनमार्क र फिनल्याण्ड भिड्दा दुबै रुसको तगारो हटाएर शीर्ष २ भित्र अटाउने मनशायमा हुनेछन् । किनकी बेल्जियमले यो समूहको शीर्षता हत्याउने लगभग निश्चित जस्तै छ । यी दुईबिचको खेल राति पौने १० बजे कोपनहेगनमा हुनेछ ।

बेल्जियम र रुसलाई समूह बी बाट अघिल्लो चरण प्रवेश गर्ने २ टोलीको रुपमा हेरिएको छ । तर, विश्व वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई रोक्न रुसलाई कठिन हुने पक्का छ । खेल राति पौने १ बजे हुनेछ ।

यसअघि गएरातिको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध ३–० को जित दर्ता गर्दा २ कीर्तिमान बनेको छ । एक इटालीले अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ । दुई युरो कपको इतिहासमै इटालीले एउटे खेलमा पहिलोपटक ३ गोल गर्‍यो । इटालीको रोममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रोमा टर्कीले घरेलु टोलीको आक्रमणलाई रोक्न सकेन । ५३ औं मिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो । ६६ औं मिनेटमा चिरो इम्मोबिले र ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए । इटालीले ९ खेलमा विपक्षीलाई गोलको अवसर दिएको छैन । 


प्रतिक्रिया