महिला भलिबलको बन्द प्रशिक्षण आजबाट

असार १, २०७८ | काठमाडौं

नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आज सुरु हुँदैछ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले आजबाट प्रशिक्षण थाल्न लागेको हो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ । 

नेपाल भलिबल संघ एनभीएले टिमको बन्द प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने जनाएको छ । कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने संघले जनाएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा प्रशिक्षण केहि समयका लागि स्थगित भएको थियो । संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ । संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।

आर्मी क्लब सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का र संगम महतो बन्द प्रशिक्षणमा परेका छन् । यस्तै न्यु डायमण्डबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ र बाल्मिका आचार्य छन् । नेपाल पुलिस क्लबबाट उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द छन् । एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट र पुजा चौधरी छन् । भरतपुरकी सरस्वती कट्टेलपनि वन्द प्रशिक्षणमा अटाएकी छन् ।

बैकल्पिक खेलाडीमा आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही र पुष्पा चौधरीलाई राखिएको छ ।


प्रतिक्रिया