युरो कप : स्लोभाकिया विजयी, स्पेन र स्वीडेन बराबरीमा रोकिए

असार १, २०७८ | काठमाडौं

युरो कपको समूह ई मा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको दिन स्पेन भने स्वीडेनसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २–१ ले स्तब्ध पारेको हो । खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलबाट अग्रता लिएको थियो । क्यारोल लिनेतिले दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै पोल्याण्डलाई बराबरीमा ल्याए । 

तर, मिलान स्क्रिनियारले ६९ औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई जित दिलाए । यही समूहमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको छ । स्पेनका फरवार्डको कमजोर प्रदर्शन र स्वीडिस गोलरक्षकको उत्कृष्ट बचाउले स्पेनलाई अंक बाँड्न बाध्य पार्‍यो ।

समूह डी मा प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले स्कटल्यान्डमाथि सनसनीपुर्ण २–० को जित हात पारेको छ । ग्लास्गोको ह्याम्प्डेन पार्कमा गएराति भएको खेलमा दुबै हाफमा गोल गरेका सिकले युरोकै लामो दुरीको गोल पनि गरे । दोस्रो हाफको सातौं मिनेटमा उनले ४९ दशमलव ७ मिटर टाढाबाट प्रहार गरेको शट गोलमा परिणत भएको थियो । 


प्रतिक्रिया