युरो कप: बेल्जियम र नेदरल्याण्ड्स युरो कपको अन्तिम १६ मा प्रवेश

असार ४, २०७८ | काठमाडौं

विश्व नं १ बेल्जियम र नेदरल्याण्ड्स युरो कपको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह सी मा लागातार दोस्रो जित दर्ता गर्ने क्रममा नेदरल्याण्ड्सले अष्ट्रियालाई २–० ले हरायो । सन् २००८ को युरोमा समूह चरण पार गरेको नेदरल्याण्ड्सले १३ वर्षपछि सोही लयलाई कायम राखेको हो । आम्स्ट्रडाममा भएको खेलमा मेम्फिस डिपेले ११ औं मिनेटमा नै डच टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा डम्फ्राइजले टोलीको अग्रता दोब्बर पारे र नेदरल्याण्ड्सलाई अन्तिम १६ मा पुर्‍याए ।

समूह सी मै गएराति युक्रेनले नर्थ मेसिडोनियालाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई जीवितै राखेको छ । लगातार दोस्रो हारपछि नर्थ मेसिडोनिया भने प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ । युक्रेनको जितमा यार्मलेन्को र रोमन यारेमचुकले गोल गरे । नर्थ मेसिडोनियाका इज्गान एलिओस्कीले गोल फर्काए ।

त्यस्तै समूह बी मा लगातार दोस्रो जित दर्ता गरेको विश्व नं १ बेल्जियम पनि प्रतियोगितामा अन्तिम १६ मा पुगेको छ । १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले २–१ को प्रभावशाली जित दर्ता गरेको हो । डेनमार्कले खेलको पहिलो मिनेटमा नै युसुफ पाउल्सेनको गोलमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा गोल गर्न नसकेको बेल्जियमले दोस्रो हाफको ५५ औं मिनेटमा थोर्गन हाजार्डको गोलबाट बराबरी गर्‍यो । ७१ औं मिनेटमा केभिड डी ब्रुयनाले गोल थपेपछि बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गर्‍यो । लगातार दोस्रो हारले डेनमार्कको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । 


प्रतिक्रिया