बेल्जियम र नेदरल्याण्डस् युरोकपको प्रि-क्वार्टरफाइनलमा

असार ८, २०७८ | काठमाडौं

शतप्रतिशत नजिता सहित बेल्जियम र नेदरल्याण्डस्, युरोकप फुटबल २०२० को प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । रसियामाथि रोमाञ्चक जित निकाल्दै डेनमार्कले पनि अन्तिम १६ मा स्थान बनाएको छ । 

समूह बी अन्तर्गतको खेलमा विश्व नम्बर वान बेल्जियमले गएराति फिनल्याण्डलाई २–० ले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ७४ औं मिनेटमा लुकास राडेस्कीको आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनाएको थियो । 

८१ औं मिनेटमा रामेलु लुकाकुले गोल थपेपछि बेल्जियम पहिलो पटक युरोकपको समूह चरणमा सतप्रतिशत नतिजा निकाल्न सफल भयो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा रसियाविरुद्ध ३ गोल थपेको थियो । उसको जितमा माइकल डेम्सगार्ड, युसुफ पौलसेन, एन्ड्रेस क्रिष्टेनसेन, जोआकिम माहेलेले गोल गरे । रसियाका लागि आट्रेम जुबाले गोल फर्काएका थिए । 

फिनल्याण्ड र रसियासँग समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह सीको खेलमा नेदरल्याण्डस्ले नर्थ मेसेडोनियालाई ३–० र अष्ट्रियाले युक्रेनलाई १–० ले पराजित गर्‍यो । नेदरल्याण्डको ९ अंक हुँदा अष्ट्रियाको ६ अंक भएको छ । ३ अंक भएको यक्रेन र अंकबिहीन मेसेडोनिया भने बाहिरिएका छन् ।


प्रतिक्रिया