एन्फाले बोलायो कार्यकारी समितिको आकस्मिक बैठक

श्रावण १३, २०७८ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्यान्पियनसिप र राष्ट्रिय टोलीका प्रशिक्षकले घोषणा गरेको राजीनामाको विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पर्सी शुक्रबार अपरान्ह ४ बजे बस्ने बैठकमा साफ च्यान्पियनसिपका साथै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै सामाजिक सञ्जाल मार्फत् घोषणा गरेको राजीनामाको विषयमा छलफल हुने एन्फाले जनाएको छ । 

यो संस्करणको प्रतियोगिता आयोजनाको जिम्मा पाएको बंगलादेशले हात उठाएपछि साफले नेपाललाई प्रतियोगिता गर्न गत आइतबार औपचारिक प्रस्ताव गरेको थियो । त्यसअघि गत शुक्रबार साफको बैठकमा नेपाल सहित माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए । आइतबार नै राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफूले राजीनामा गर्नु परेको उल्लेख गरेका थिए । 

यद्यपि उनले एन्फामा राजीनामा भने बुझाएका छैनन् । उपाध्यक्ष नेम्वाङले प्रशिक्षक अलमुताइरीले आफ्नो चरित्र हत्याको प्रयास गरेको भन्दै छानबिन गर्न माग गरेका छन् । उनले, यसबारे अनौपचारिक तवरमा कुनै छलफल नहुने र एन्फाले औपचारिक निर्णय लिनुपर्ने अडान राखेपछि आकस्मिक बैठक बोलाइएको हो ।


प्रतिक्रिया