ईपीएलका लागि पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक

भाद्र ३०, २०७८

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले आफ्नो नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ । पोखरा राइनोजले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो टीमको नयाँ लोगो र जर्सी सार्वजनिक गरेको जानकारी गराएको हो । 

ईपीएलको चौंथो संस्करणमा पोखरा राइनोज उच्च मनोबलका साथ देखिने भएको छ । जीतको प्रतीक सुन्तला रङ्ग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनी ब्याट्स्म्यानले बल प्रहार गरेको लोगोमा झल्काइएको छ । 

राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे हिमाल राखेको छ । जर्सीको प्रायोजन सेभेन–अ ब्राण्ड वाई एम.एस धोनीले गरेको छ । त्यस्तै, मुख्य प्रायोजकमा सौर्य सिमेण्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । 

हस्पिटालिटीको प्रायोजनमा याक एण्ड यती काठमाण्डौ तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेका छन् । ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

ईपीएल क्रिकेट प्रतियोगिताको उपाधिका लागि यसपटक पोखरा राइनोज सहित काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् । ईपीएलको चौंथो संस्करणको विजेताले ५० लाख रुपैयाँ, उप–विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी लिगमा विभिन्न विधाका खेलाडीले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया