छैटौं संस्करणको एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप असोज दोस्रो साता

भाद्र ३०, २०७८ | काठमाडौं

छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले आज एक पत्रकार सम्मेलन गर्दै असोज १० देखि १६ सम्म हुने च्याम्पियनसिपको आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । 

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोली हुने छन् । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली लिगका लागि छनोट हुनेछ । प्रतियोगिताको पुरस्कार राशिमा पनि दोब्बर वृद्धि भएको छ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् ।

 दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । गत सिजनका शीर्ष तीनले २ लाख, १ लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए । गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ हात पारेका थिए । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । 


प्रतिक्रिया