एभरेष्ट प्रिमियर लिग ईपीएलमा काठमाडौं किंग्स ११ को विजय शुरुवात

आश्विन ९, २०७८ | काठमाडौं

काठमाडौं किंग्स ११ ले एभरेष्ट प्रिमियर लिग ईपीएलमा विजय शुरुवात गरेको छ । पहिलो दिनको खेलमा आज काठमाडौं किंग्स ११ ले लतिलपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको हो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ३६ बलमा ५९ र रायन बर्लले ३४ बलमा ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १४ दशमलव २ ओभरमा १ सय ६० रन बनाउँदै पुरा गर्‍यो । बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । 

अर्का अविजित ब्याट्सम्यान राजु रिजालले १३ बलमा २ चौकासहित १९ रनको योगदान गरे । सुवास खकुरेल आफूले सामना गरेको पहिलो बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुर्बाज र बर्ल ललितपुरका बलरमाथि जाइलागेका थिए । गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गरे ।

यसअघि पवन सर्राफको अर्धशतकमा लतिलपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । ४० बलमा अर्धशतक बनाएका पवनले कूल ४४ बल खेली ५ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए ।

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ललितपुर र काठमाडौंसंगै पोखरा राइनोज, विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स सहभागी छन् । 


प्रतिक्रिया