उपाधि उचाल्दै त्यसलाई थप यादगार बनाउन चाहन्छ नेपाल

आश्विन ३०, २०७८ | काठमाडौं

साफ च्याम्पियनसिपको फाइनल पुगेरै इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली उपाधि उचाल्दै त्यसलाई थप यादगार बनाउन चाहन्छ। तर, त्यो त्यति सहज नरहेकोमा नेपाली टोली ढुक्क छ ।

 त्यसैले फाइनलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल सजिलो नभएपनि जित्ने संकल्पका साथ मैदान ओर्लने बताए । टोली भारतविरुद्धको फाइनलका लागि तयार रहेको उनको प्रतिक्रिया थियो । लिग चरणमै भारतसँग १–० ले हारेको नेपालले काठमाण्डौमा महिनाअघि भएको खेलमा पनि नतिजा भारतलाई सुम्पिएको थियो ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको फाइनल आज राति पौने ९ बजे सुरु हुनेछ । सहायक प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलमा गरेको गल्तीलाई सुधार गरेर फाइनलमा मैदान उत्रने बताए । उनले भने, ‘भारतविरुद्ध पहिलेको खेलमा भएको गल्ती सुधार गरेर खेल्छौँ । पहिलो पटक फाइनल पुगेकाले खेलाडीमा उत्साह छ तर हामी बढी आत्मविश्वासी हैनौँ ।’ 

भारतविरुद्ध जित निकाल्न सबै पक्षमा बलियो रणनीतिका साथ टोली मैदान उत्रने उनको भनाइ छ । 


प्रतिक्रिया