चेन्नई सुपर किङ्सले जित्यो आईपीएलको उपाधि

आश्विन ३०, २०७८ | काठमाडौं

चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा गएराति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै गर्दै चेन्नई च्याम्पियन बनेको हो । 

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याउंदै ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बेन्कतेस ऐयरले ५० रनको अर्धशतकीय पारी खेले । अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गरेनन् ।

त्यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए । रोबिन उथप्पाले ३१ रन बनाए । कोलकाताका सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए । यससँगै चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जित्न सफल सफल भएको छ । कोलकाताको भने तेस्रो पटक उपाधि जित्ने सपना अधुरो भएको छ ।


प्रतिक्रिया