पहिलो पटक हाईअल्टिच्युट राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुँदै

आश्विन ३१, २०७८

दोलखामा पहिलो पटक हाईअल्टिच्युट रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघले दोलखामा आज पत्रकार सम्मेलन गरी आगामी कात्तिक १३ गते राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी गराएको हो । 

संघ र बाग्मती प्रदेश खेलकुद विकास परिषदले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगितामा पुरुष र महिला गरी १७ रेस्लरले ६ वटा विधामा प्रतिस्पर्धा गर्ने संघकी महासचिव सुवर्ण श्रेष्ठले बताईन । नेपालमै पहिलो पटक खुला रुपमा हिमाली जिल्लाको उच्च क्षेत्रमा प्रतियोगिता हुने लागेको संघको दाबी छ । 

प्रतियोगिताको हेभीवेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेटले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेटले ५० हजार र ट्रिपल थ्रेटले ४० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

कोभिडका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव नभएपछि हाईअल्टिच्युटमा राष्ट्रिय खेलाडीको सहभागिता सहित प्रतियोगिता गर्न लागिएको श्रेष्ठले बताइन् । 

यस्तै, बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले हिमाली क्षेत्रमा खेलकुद मार्फत पर्यटन क्षेत्रको विकासका लागि दोलखामा हाईअल्टिच्युट रिङ रेस्लिङ, सिन्धुपाल्चोकमा म्याराथन र रसुवामा साइक्लिङ प्रतियोगिता हुन लागेको जानकारी दिए ।


प्रतिक्रिया