यू–२३ राष्ट्रिय फुटबल टोली आज ताजिकिस्तान प्रस्थान

कार्तिक २, २०७८ | काठमाडौं

ए.एफ.सी अन्डर ट्वान्टी थ्री एसियन कप छनोट खेल्न यू–२३ राष्ट्रिय फुटबल टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । 

उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनीष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । 

फिफा वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल खेल्दैछ । छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन् ।

ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । छनोटका ११ समूहको शीर्ष टोलीले ए.एफ.सी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । 

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा तथा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियासँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।


प्रतिक्रिया