त्रिवेणी कप विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख

कार्तिक २७, २०७८ | लमजुङ

लमजुङको त्रिवेणी युवा क्लबले आगामी पुस १२ गतेबाट आयोजना हुने त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरेको छ । आयोजक त्रिवेणी युवा क्लबले बेंसीसहरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार राशीमा गत वर्षको तुलनामा २ लाख रुपैयाँ वृद्धि गरिएको जानकारी गराएको हो । 

यो वर्ष हुने प्रतियोगिताका विजेतालाई ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघि विजेतालाई ३ लाख रुपैयाँ प्रदान गरिएको थियो । २९ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिता आगामी पुस १२ गतेदेखि बेंसीसहरको सहजी खेल मैदानमा हुँदैछ । 

प्रतियोगितामा सेमिफाइनल उपविजेता २ वटा टीमलाई ५०/५० हजार रुपैयाँ दिइने क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो । गतवर्ष कोरोना भाइरस महामारीका कारण प्रतियोगिता गर्न नसकिएको उहाँले बताउनुभयो । 

एउटा टीममा ५ जनासम्म विदेशी खेलाडी खेलाउने पाउने तर, एकैपटक मैदानमा ३ जनालाई मात्र उतार्न पाइने नियम बनाइएको छ । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५/१५ हजार रुपैयाँ दिइने आयोजक क्लबले जनाएको छ ।


प्रतिक्रिया