टी–२० महिला विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त

मंसिर १२, २०७८

सन् २०२३ मा हुने टी–२० महिला विश्वकप खेल्ने नेपालको सम्भावना सकिएको छ । आइसिसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज संयुक्त अरब इमिरेट्ससँग ४८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना एसिया क्षेत्रबाटै चकनाचुर भएको हो । छनोट प्रतियोगितामा अपराजित रहेको युइइ भने एसिया क्षेत्रबाट आगमी वर्ष हुने टी २० ग्लोबल छनोटमा पुगेको छ ।

१ सय २८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल खेल सकिन २ बल बाँकी छँदै ७९ रनमा अल आउट भयो । नेपालकी ओपनर इन्दु बर्माले १५ रन बनाइन् । सीता रानामगरले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८ र करुणा भण्डारी २ रनमा आउट भए । त्यस्तै काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ र कविता जोशी १ रनमा आउट भए । युएईकी समायरा धरणीरकाले ४ ओभरमा ५ रन खर्चेर ४ विकेट लिइन् ।

यसअघि आइसिसी एकेडेमी ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । युएईकी मध्यक्रमकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रन बनाइन् । थ्रीथा सतिस ४७ रनमा आउट भइन् । ओपनर ईशा ओझालाई नेपालकी तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेर उत्कृष्ट शुरुवात दिलाएकरुी थिइन् । तर, थ्रीथा र ईशा इगोडागे ले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेपछि युएइको मजबुत इनिङस्को आधार तय भएको थियो । इगोडागे २२ रनमा आउट भइन् । नेपालका कविता कुँवरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, सीता रानामगर र संगिता राईले १–१ विकेट लिए ।

एसियाली छनोटमा नेपाल पहिलो खेलमा हङकङसाग ६ विकेटले पराजित भएको थियो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । 


प्रतिक्रिया