प्रधानमन्त्रीकप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता : नेपाल पुलिस फाइनलमा प्रवेश

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०७८ | काठमाडौं

नेपाल पुलिस क्लब प्रधानमन्त्रीकप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाउँदै बागमतीलाई १ सय ५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

पुलिसका ओपनर पवन सरार्फले ५४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे ।

 बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । बागमतीका ओपनर आदिल खानले ३३ बलमा ३ चौकासहित सर्वाधिक २७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा ४ चौकासहित २३ रन बनाए । अन्य कुनैपनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता नेपाल एपिएफ क्लब र समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपीएफले समूह बी अन्तर्गत चारवटै खेल जितेको थियो । आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाँडेको थियो । पौष २६ गतेबाट सुरु प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैँया पाउनेछन् । 


प्रतिक्रिया