आहा–रारा गोल्डकप नरोकिने, पहिलो चरणका खेल दर्शकबिना

माघ ४, २०७८ | पोखरा

कोरोना भाइरसको बढ्दो संक्रमणका बीच आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माघ ६ गतेबाट पोखरा रंगशालामा हुने २० औं संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । 

कोरोना महामारीका कारण यसपल्ट पहिलो चरणका खेल भने दर्शकबिना हुनेछन् । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी सेमिफाइनल अगाडिका खेलमा दर्शकलाई टिकट बिक्री नगर्ने बताएको हो । 

क्लबका अध्यक्ष हरिराम गिरी (सुरज) ले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतियोगिता गरिने बताउनुभयो । ‘विदेशबाट समेट टोली आइसकेको र प्रतियोगिताको धेरै तयारी भइसकेकोले खेल नै रोक्न सकिएन,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा अफिसियल, सञ्चारकर्मी र प्रायोजकलाई मात्रै राखेर प्रतियोगिता गर्दैछौं । त्यसपछिको अवस्था हेरेर टिकट बिक्री गर्ने/नगर्ने निर्धारण गर्छौँ ।’

प्रतियोगितामा एक विदेशी सहित १० टोली सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुनेमा संकटा क्लब, मच्छिन्द्र क्लब, पुलिस क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, अमेरिकाको बीवाईएससी मिनेसोटा र आयोजक सहारा क्लब छन् । 

प्रतियोगिताको उद्घाटन खेल बिहीबार आयोजक सहारा क्लब र एपीएफबीच हुनेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । क्लबले यस वर्ष पनि ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८’ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने भएको छ । 

सम्मान प्राप्त गर्ने खेलाडीलाई ३५ हजार रुपैयाँ प्रदान गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । गोल्डकपमा गत वर्ष संकटा क्लब विजेता र अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन उपविजेता रहेका थिए । 

विसं २०५५ मा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले आयोजना गर्ने प्रतियोगिता पोखराको ‘ब्रान्ड’ को रुपमा स्थापित छ । क्लबले हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा–रारा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । 

क्लबले क्याराभान गोल्डकप सहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालन गरिरहेको छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

उहाँले प्रतियोगिताबाट १ करोड ३६ लाख रुपैयाँ आम्दानी र १ करोड ६ लाख ४८ हजार रुपैयाँ अनुमानित खर्च हुने बताउनुभयो । प्रतियोगिताबाट बचत हुने रकम क्लबद्वारा पोखराको दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च हुन्छ । 

हाल तेस्रो व्याचको रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ जना असहाय बालक आश्रित छन् । २०५८ मा एकेडेमी स्थापना भएको हो भने ०६१ देखि बालकहरुलाई आवासीय रुपमा राखेर नि:शुल्क पठनपाठन र फुटबल प्रशिक्षण गराउँदै आएको छ । 

एकेडेमी सञ्चालनको मुख्य स्रोत आहा–रारा गोल्डकप हो । १९ औं आहा–रारा गोल्डकपमा ७६ लाख ५० हजार रुपैयाँ आम्दानी भएकोमा ६३ लाख रुपैयाँ खर्च भएर १३ लाख ५० हजार रुपैयाँ क्लबले बचत गरेको थियो ।  


प्रतिक्रिया