पीएम कप राष्ट्रिय टी ट्वेन्टी क्रिकेटको उपाधि एपीएफलाई

माघ ५, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय टी– ट्वेन्टी क्रिकेटको उपाधि एपीएफ क्लबले उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ क्लबले उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६५ रनको योगदान गरे । ५४ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दिलिप नाथ २३, आरिफ शेख १२र अनिल साह १० रनमा आउट भए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्रै खर्चिएका थिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दीपक बोहराले १/१ विकेट लिए ।

यसअघि एपीएफका लागि अमर राउटेलाले सर्वाधिक २९ रन बनाएका थिए । १५ बलमा उनले ३ छक्का र २ चौका प्रहार गरे । त्यस्तै लोकेश बमले २७ , सन्दीप जोरा र भुवन कार्कीले क्रमश: २४ र १७ रन बनाए ।

पुलिसका लागि सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । त्यस्तै गुल्सन झाले २ विकेट लिंदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।

प्लेयर अफ दि म्याच किशोर महतो भए । यस्तै बेस्ट बलर अनिल खरेल, बेस्ट ब्याट्सम्यान कुशल भुर्तेल, प्लेयर अफ दि टुर्नामेन्ट आशिफ शेख भए । विजेता टोलीले ५ लाख रुपैयाँ हात पारेको छ । 


प्रतिक्रिया