सडन डेथमा हिमालयन शेर्पालाई हराउँदै पुलिस क्वाटरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

माघ ७, २०७८ | पोखरा

विभागीय टोली नेपाल पुलिस आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिसले अघिल्लो चरणमा मनाङ मर्स्याङ्दीसँगको भेट पक्का गरेको हो । 

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि टाइब्रेकरमा धकेलिएको खेलमा दुबै टोलीले १–१ प्रहार खेर फालेपछि निर्णय सडन डेथबाट लिइएको हो ।

सडन डेथमा पुलिसका राम बाजीले गोल गरे । यसअघि निर्धारित समयको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ५२ औं मिनेटमा निरकुमार राईले पुलिसलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले टोलीका लागि बराबरी गोल फर्काएका थिए । 

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा भोलि नेपाल एपीएफ फुटबल क्लव र अमेरिकाको बी. वाई. एस. सी मिनेसोटाबीच खेल हुनेछ । एपीएफले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराएको थियो । 


प्रतिक्रिया