एपीएफ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

माघ ८, २०७८ | पोखरा

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भुटानीज युथ स्पोर्ट्स क्लब (बीवाईएससी) लाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनल प्रवेश गरेको हो । 

अमेरिकाको मिनेसोटाबाट पोखरा आएर सिधैं क्वाटरफाइनल खेल्ने मौका पाएको बीवाईएससीले सुरुआती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ४८ औं मिनेटमा बीवाईएससीका लागि मिगेत पालाफक्सले गोल गर्दै अग्रता दिलाएका थिए । 

राइट विंगर राइली युरीको क्रसलाई एपीएफका डिफेन्स राजन गुरुङले हेडर मार्फत क्लियर गर्न खोजे पनि अनमार्क अवस्थामा रहेका मिगेलसम्म बल पुगेको थियो । उनको हेडर गोलरक्षक कुरियामा युयाले बचाउन सकेनन् ।

अग्रता दिइसकेपछि भने पाहुना टोली बढी आत्मविश्वासी देखियो । उत्तर अमेरिका, मेक्सिको लगायत देशका अग्ला खेलाडी सम्मिलित टोलीका सामु एपीएफलाई हम्मेहम्मे परेको थियो । 

खेलको ७० औं मिनेटमा पाएको पेनाल्टी एपीएफका लागि टर्निङ प्वाइन्ट बन्यो । एपीएफका प्रदीप लामाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार गोलरक्षक दिनेश थापा मगरबाट रिबाउन्ड भयो । 

अर्मान्ड विडोमले सो बल कलेक्ट गर्न खोज्दा डिफेन्डर हेक्टर ट्रिगरसले पेनाल्टी बक्सभित्र लडाएपछि रेफ्री नवीन्द्र महर्जनले एपीएफलाई पेनाल्टीको मौका दिए । आवास लामिछानेले सो मौका नगुमाउँदा खेलमा रोमाञ्चक १–१ स्थिति बन्यो । 

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रवि थिङले चामत्कारिक दुई गोल थपेर एपीएफको जित सुनिश्चित गर्दा एपीएफले अन्तिम चारमा स्थान पक्का गर्‍यो । उनी ५८ औं मिनेटमा विकी तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । 

खेलको ८४ औं मिनेटमा आवासको थ्रो पासलाई पेनाल्टी एरियाको दायाँ भागबाट फिनिसिङ टच दिँदै रविले अग्रता दिलाए । इन्ज्युरी समयमा पेनाल्टी एरिया बाहिरबाट गरेको सिधा प्रहार रोक्न गोलरक्षक दिनेश थापा मगरले कुनै भेउ पाएनन् । 

रवि म्यान अफ दी म्याच भए । आयोजक सहारालाई उद्घाटन खेलमा हराएर क्वाटरफाइनल खेलेको एपीएफले सेमिफाइनलमा भने सोमबार हुने संकटा र मछिन्द्रबीचको विजेतासँग माघ १२ मा खेल्नेछ । आइतबार प्रतियोगिता अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।


प्रतिक्रिया