इण्डियाविरुद्धको वान डे सिरिज साउथ अफ्रिकाद्धारा क्लिन स्वीप

रेडियो कान्तिपुर संवाददाता

माघ १०, २०७८

साउथ अफ्रिकाले पाहुना टोली इण्डियाविरुद्धको ३ म्याचको वान डे सिरिज क्लिन स्वीप गरेको छ । केप टाउनमा गएराति भएको तेस्रो तथा अन्तिम वान डे मा इण्डियालाई नाटकीय रुपमा ४ रनले हराउँदै घरेलु टोली साउथ अफ्रिकाले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो । इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउथ अफ्रिकाले खेल सकिन १ बल बाँकी छँदै अल आउट भएर २ सय ८७ रन जोडेको थियो । विकेटकिपर ब्याट्सम्यान क्विनटन डी ककले शतकीय इनिङ्स खेले । उनले १ सय २४ रन जोडे । त्यस्तै रेसी भान डेर डुसेनले ५२ रन जोडे । डेभिड मिलरको नाममा ३९ रन रह्यो । इण्डियाका प्रसिद्ध कृष्णले ३ तथा दीपक चाहर र जसप्रित बुम्राहले २–२ विकेट लिए ।

२ सय ८८ रनको लक्ष्य पछ्याएको इण्डिया खेल सकिन ४ बल अगावै २ सय ८३ रनमा प्याक भयो । क्याप्टेन के एल राहूल ९ रनमै आउट भएको खेलमा विराट कोहलीले ६५ र शिखर धवनले ६१ रन बनाए । त्यस्तै दीपक चाहरले ५४ रन जोडे । साउथ अफ्रिकाका लुङ्गी एन गिडीले ३ विकेट लिए । साउथ अफ्रिकाका डी कक प्लेयर अफ दी म्याच र सिरिज दुबै घोषित भए । यसअघि पहिलो वान डे मा साउथ अफ्रिका ३१ रन र दोस्रोमा ७ विकेटले विजयी भएको थियो ।  


प्रतिक्रिया