संकटालाई हराएर मच्छिन्द्र सेमिफाइनलमा प्रवेश

माघ १०, २०७८ | पोखरा

साविक विजेता संकटा क्लबलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । 

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा संकटालाई ४–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै मच्छिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

मच्छिन्द्रको जितमा विदेशी खेलाडी मेसुके ओलुमोउले व्यक्तिगत २ गोलको योगदान दिए । उत्सव राई र अभिषेक गुरुङले १–१ गोल गरे । संकटाका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका गणेश हमालले सान्त्वना एक गोल फर्काए ।

खेलको १३ औं मिनेटमा मच्छिन्द्रका उत्सव राईले गोल गर्दै सुरुआती अग्रता दिलाए । ४७ औं मिनेटमा मेसुके ओलुमोउले गोल थप्दै अग्रता दोब्बर बनाए । ६३ औं मिनेटमा संकटाका वैकल्पिक खेलाडी गणेश हमालले एक गोल फर्काए । 

८४ औं मिनेटमा मछिन्द्रका लागि अभिषेक गुरुङले गोल गर्दै ३–१ को स्थिति बनाए । सो गोल भएको दुई मिनेटमै मेसुकेले पुन: अर्को गोल थप्दै अन्तिम चारमा स्थान पक्का गरे । 

खेलमा उनी प्लेयर अफ दी म्याच भए । मछिन्द्रले फाइनल प्रवेशका लागि बुधबार विभागीय टोली एपीएफसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब भिड्नेछन् । 


प्रतिक्रिया