मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

माघ १२, २०७८

ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबलाई हराउँदै एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज मछिन्द्र ३–१ ले स्तब्ध हुँदा एपीएफले २० औं आहा–रारा गोल्डकपको फाइनल उडान भरेको हो । 

यसअघि २०६४ मा एपीएफ अर्को विभागीय टोली पुलिस क्लबसँग २–० ले फाइनलमा पराजित भएको थियो । एपीएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे । २५ औं मिनेटमा मणि लामाको फ्रिकिकमा सनिसले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए । ४० औं मिनेटमा मछिन्द्रका आमोलजा नुरेन करिमले गोल गर्दै बराबरी बनाए । प्रदीपले ६८ औं मिनेटमा गोल गरेर २–१ को स्थिति बनाए । 

गोलकर्ता करिमले रेफ्रीसँग विवाद गरेपछि ७१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाए । रेफ्री नवीन्द्र महर्जनले उनलाई मैदान बाहिर पठाएपछि मछिन्द्र १० खेलाडीमा सिमित भयो । जसको फाइदा उठाउँदै एपीएफका कप्तान नवीन लामाले इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । खेलमा एपीएफका प्रदीप प्लेयर अफ दी म्याच भए । भोलि मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच दोस्रो सेमिफाइनल हुने छ । 


प्रतिक्रिया