सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश

फाल्गुन २१, २०७८

सातदोबाटो युथ क्लब झापा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको हो । बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सातदोबाटाले जावलाखेललाई टाइब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । 

टाइब्रेकरमा जावलाखेलका कप्तान राजेन्द्र रावल र गौरव श्रेष्ठले बललाई गोलपोष्टको दिशा दिन नसक्दा सातदोबाटो विजयी भएको हो । रावलको पेनाल्टी प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेका थिए । श्रेष्ठको प्रहार बाहिरिएको थियो । टाइब्रेकरमा सातदोबाटोका आकास बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र मार्टिन अजयीले गोल गरेका थिए । जावलाखेलका जुनियर र सुरज ज्यू ठकुरीको प्रहार मात्र गोलमा परिणत भएको थियो । खेलमा अग्रता पनि सातदोबाटोले नै लिएको थियो । 

उसका विदेशी खेलाडी मार्टिनले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । १२ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । जुनियरले ३४ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा सातदोबाटोका आशिष राईले गोल गरेपछि निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा विजेता टिमका गोलकिपर अभिषेक बराल म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा आइतबार नेपाल पुलिस क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

फागुन ३० सम्म चल्ने गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । 


प्रतिक्रिया