झापा गोल्डकपको उपाधिका लागि आर्मी र आयोजक टीम भिड्ने

फाल्गुन २८, २०७८ | बिर्तामोड

झापा गोल्डकप फुटबल प्रतियोगिताको ५ औं संस्करणको उपाधिका लागि आयोजक झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । 

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा काठमाडौंको संकटा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली झापा–११ ले उपाधि भिडन्त पक्का गरेको हो । 

गोल्डकपको फाइनल खेल सोमबार हुनेछ । झापाको जितमा दुबै टोल बिमल घर्तीमगरले गरे । बिमलले खेलको १६ र ५८ औं मिनेटमा गोल गरेका हुन् । विदेशी खेलाडी आन्द्रेस नियाको पासमा बिमलले संकटाका गोलरक्षक रोहित कार्कीलाई बिट गर्दै बललाई सहजै गोलमा परिणत गरे । 

५८ औं मिनेटमा विकास मेराग्लियाको क्रस पासमा बिमलले वान टच गोल गरेका थिए । संकटाले गोलका लागि पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरेको थियो । दोस्रो हाफमा झापाले रक्षात्मकसँगै आक्रामक खेल पस्किएपछि संकटाले गोल गर्न सकेन । 

खेलमा गोलकर्ता विमल प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । आर्मी झापा गोल्डकपको उपाधि तीन पटक जितिसकेको छ । 

आयोजक झापा भने लगातार फाइनल खेलेपनि अहिलेसम्म उपाधि रक्षा गर्न सकेको छैन । फागुन २१ देखि सुरु भएको गोल्डकपको विजेताले १२ लाख ५० हजार तथा उपविजेताले ६ हजार ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।    


प्रतिक्रिया