दमक गोल्डकपको उद्घाटन खेलमा बाग्मती विजयी

चैत्र ९, २०७८ | बिर्तामोड

झापाको दमकमा बुधबार सुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सलार्हीको बाग्मती युथ क्लब विजयी भएको छ । दमक नगरपालिकाको आयोजनामा सुरु गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक–११ लाई १–० गोलले पराजित गर्दै बाग्मती प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलमा बाग्मतीका अनिल रानामगरले पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो । खेलको ८८ औं मिनेटमा दमकका खेलाडीले बाग्मतीका विदेशी खेलाडी जोमौललाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टी अवसरलाई अनिल रानामगरले गोल गर्दै टिमलाई जिताएका थिए । 

खेलमा बाग्मतीका गोलकिपर मनोज प्रधान प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । चैत १८ सम्म चल्ने दमक गोल्डकपमा ४ विदेशीसहित १० टिमको सहभागीता रहने छ ।

गोल्डकपमा त्रिभुवन आर्मी, मनाङ मस्र्याङदी, नेपाल पुलिस, बाग्मती क्लब सर्लाही, आयोजक दमक–११, गोर्खा ब्वाईज रुपन्देही, पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलकात्ता र एमेनियर फुटबल क्लब क्यामरुन सहभागी हुनेछ । 

गोल्डकपको विजेता टिमले १३ लाख ११ हजार तथा उपविजेता टिमले ६ लाख ११ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । गोल्डकपमा विधागततर्फ ७ जना खेलाडीलाई पुरस्कृत गर्ने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिनुभयो । 

उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट फरवार्डले जनही २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतिक्रिया