गोर्खा ब्वाइज दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

चैत्र १०, २०७८ | बिर्तामोड

रुपन्देहीको गोर्खा ब्वाइज क्लब झापामा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आज भएको खेलमा भारतको कोलकात्ता दुर्गापुर सन्डे क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । 

गोर्खा ब्वाइजको जितमा विदेशी खेलाडी यानिकले ह्याट्रीक गरे भने सुसन तामाङ र सुनिल खड्काले एक–एक गोल गरेका थिए । गोर्खा ब्वाइजले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । उसका यानिकले गोल गरेका थिए । 

२० औं मिनेटमा यानिकले टिमका लागि दोस्रो गोल गरेका थिए । ५१ औं मिनेटमा सुसन तामाङले, ७० औं मिनेटमा सुनिल खड्काले तथा इन्ज्यूरी समयमा यानिकले टिमका लागि पाँचौं तथा व्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । 

खेलमा यानिक नै प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार हुने पहिलो क्वाटरफाइनलमा मनाङ मस्र्याङदी क्लब र बाग्मती सलार्हीको युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया